कोइरालाको सम्पर्क कार्यालयमा शेखर–गगन बैठक

कोइरालाको सम्पर्क कार्यालयमा शेखर–गगन बैठक

'केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनु उत्तम'


ग्लोब नेपाल
162
Shares

काठमाडौं । कांग्रेसभित्र नियमित महाधिवेशनको सम्भावना टर्दै गएको निष्कर्षमा पुगेको संस्थापनइतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत भएका छन ।

काठमाडौंको विशालनगरमा मंगलबार नेता डा. शेखर कोइरालाले बोलाएको अनौपचारिक छलफलमा इतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा सहमत भएका हुन ।

कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा नेता कोइरालासहित महामन्त्री गगनकुमार थापा, सहमन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, विशेष महाधिवेशन पक्षधर देवराज चालिसे र गुरु घिमिरे सहभागी रहेका थिए । कोइरालाले उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पनि छलफलमा बोलाएका थिए ।

तर, उपसभापति गुरुङ उपत्यका बाहिर र महामन्त्री शर्मा काम विशेषका कारण छलफलमा उपस्थित हुन नसकेका कोइरालाको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । उनीहरूले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुलाई निकासको उपयुक्त विकल्पका रूपमा अघि सारेका छन् ।

छलफलमा नेताहरूले विशेष महाधिवेशनमा जाने निष्कर्ष निकाले पनि यसको प्रक्रियामा भने सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । छलफलमा सहभागी विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व गरेका नेतामध्येका एक देवराज चालिसेले विशेष महाधिवेशनमा जाने विधि र परिणाममुखी बनाउने उपायबारे छलफल भएको जानकारी दिएका छन ।

उनले भने, ‘नियमित महाधिवेशनको सम्भावना लगभग टर्दै गयो । अब विशेष महाधिवेशनमै हो जाने, ‘यसमा जाने कसरी र टुंग्याउने कसरी, कसरी परिणाममुखी बनाउने भन्ने कुरामै छलफल भयो ।’ नेता चालिसेले विशेष महाधिवेशनका लागि संकलन गरिएको हस्ताक्षरले कार्यकर्तामा देखिएको उत्साहका बारेमा नेता कोइराला र महामन्त्री थापालाई जानकारी गराएको र छलफल उत्साहपूर्ण भएको पनि बताए ।

उनले भने, ‘हामीले कार्यकर्ताको उत्साह उहाँहरूलाई अवगत गरायौँ । त्यसमा साझा धारणा बनाउन अनुरोध गर्‍यौँ, ‘त्यही विषयमा छलफल भयो । लगभग लगभग उत्साहजनक रूपमा समापन गर्‍यौँ । छलफल उत्साहपूर्ण नै रह्यो ।’ नेता चालिसेले हस्ताक्षरकर्ताहरूको भावनालाई सम्बोधन गरेर केन्द्रीय कार्यसमिति बैठकले नै विशेष महाधिवेशनको निर्णय गर्ने विषयमा आफूहरू सहमत भएको पनि दाबी गरे ।

उनले भने, ‘हस्ताक्षरकर्ताको भावनालाई सम्बोधन गरेर, माग बमोजिम त्यसको मर्यादा राखेर पार्टीले पनि बोलाउन सक्ने विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउने कुरामा सहमत भयौँ, ‘विशेष महाधिवेशनको विषयमा शेखर–गगन एक ठाउँमा आउनुभयो ।’

हस्ताक्षर अभियानको नेतृत्वकर्ताका तर्फबाट छलफलमा सहभागी नेता गुरूराज घिमिरेले पनि नेतृत्व परिवर्तनसहितको विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिले निर्णय गरे आफूहरूलाई आपत्ति नभएको पनि बताए ।