सुदनले चलाए गृहमन्त्रीको राजीनामा अभियान

सुदनले चलाए गृहमन्त्रीको राजीनामा अभियान


ग्लोब नेपाल
216
Shares

काठमाडौं । देशमा विधिको शासन, सुशासन र नागरिकको सुरक्षाको माग गर्दै ‘हामी नेपाल’ नामक संस्थाले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सशक्त सामाजिक सञ्जाल अभियान सुरु गरेको छ । संस्थाका संयोजक सुदन गुरुङले गृहमन्त्रीको मौनता र कार्यशैलीप्रति घोर आपत्ति जनाउँदै उनको राजीनामा मागेका हुन् ।

फेसबुकमार्फत गुरुङले एक पोस्टर साझा गर्दै ‘मौनतालाई कमजोरी नठान्नू: जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्ने चेतावनीयुक्त सन्देश प्रवाह गरेका छन् । पोस्टरमा गृहमन्त्री अर्याललाई लक्षित गरी तीनवटा ह्यासट्यागहरू समेत उल्लेख गरिएका छन्, जसले उनको कार्यकालमा देखिएका कमजोरीहरूमाथि प्रश्न उठाएको छ ।

गुरुङले हालै बारामा ‘जेनजी’ (युवा पुस्ता) माथि भएको कुटपिटको घटनामा गृहमन्त्रीको ‘लाचारीपन’ लाई प्रमुख कारक बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट र जेनजी भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो ।’

यदि गृहमन्त्रीले राजीनामा नदिने, भ्रष्टाचारी र हत्याराहरूलाई समात्न नसक्ने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरूमाथि कुटपिट हुँदा कानमा तेल हालेर बस्ने र उल्टै देशप्रेमी युवाहरूलाई पक्राउ गर्ने हो भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउने चेतावनी गुरुङले दिएका छन् ।

गुरुङले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनका दोषीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन निरन्तर माग गर्दै आएका छन् । तर, यस विषयमा गृहमन्त्रीले बेवास्ता गरेको भन्दै गुरुङले उनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

एक दिनअघि मात्रै पनि गुरुङले गृहमन्त्रीविरुद्ध कडा स्टाटस लेख्दै प्रश्न गरेका थिए, ‘आफूलाई संविधानविद् भनेर चिनाउने, संविधानको कुन धारामा ‘सानालाई ऐन र ठूलालाई चैन’ लेखेको छ ? विधिको शासन लागू नहुने भए पुरानो शासन र अहिलेकोमा के फरक भयो गृहमन्त्रीज्यू ?’