फिर्ता बोलाइएका ११ राजदूतमध्ये चार जनाले दिए राजीनामा, बाँकी हाजिरीमा

फिर्ता बोलाइएका ११ राजदूतमध्ये चार जनाले दिए राजीनामा, बाँकी हाजिरीमा


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सरकारले फिर्ता बोलाइएका ११ मध्ये चार जना राजदूतले पदबाट राजीनामा दिएका छन् । उनीहरुकाे राजीनामा पनि स्वीकृत भइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन् ।

राजदूतहरूमा चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली (चीन) र रमेशचन्द्र पौडेल (कतार) ले राजीनामा दिएका छन् । दुर्गाबहादुर सुवेदी (जापान), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), जङ्गबहादुर चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब) र सनिल नेपाल (स्पेन) ले परराष्ट्र मन्त्रालयमा हाजिर गर्छन् ।

वर्तमान सरकारले गत कात्तिक १७ गते ११ देशका नेपाली राजदूतहरूलाई कात्तिक २० गतेदेखि परराष्ट्र मन्त्रालयमै कामकाज गर्ने गरी फिर्ता बोलाउन पत्राचार गरेको थियो । यद्यपि राजदूतहरूले भने आफ्नो दैनिकी हाजिर गरेर घर फर्कने मात्र भइरहेको बताएका छन् । नाम नबताउने शर्तमा एक जना राजदूतले आफूहरू सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेको जानकारी दिए।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएका ११ राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतको आदेशपछि सरकारले पत्र पठाउँदै उनीहरूलाई मन्त्रालयमा काजमा बोलाएको थियो ।