बूढीगण्डकी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार

बूढीगण्डकी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार



काठमाडौं । बूढीगण्डकी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार भएको छ ।

धादिङ र गोरखामा निर्माण हुने १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त र सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लाे अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको हो ।

दुवै जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्री कुलमान घिसिङले दुवै आयोजनाको वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिँदै त्यसलाई आवश्यक स्वीकृतिका लागि पेश गर्न निर्देशन दिएका छन् ।

उनले दुवै आयोजना लामो समयदेखि चर्चामा मात्र रहेकाले अब लगानी मोडालिटी टुङ्गो लगाएर निर्माणमा लैजानुपर्ने बताए ।

नेपाल विद्युत् प्राधिकरणको शेयर निष्कासन गर्ने, ऊर्जा बन्ड जारी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट सङ्कलित रकम, वैदेशिक रोजगारीमा रहेका तथा गैरआवासीय नेपाली र आमसर्वसाधारणलाई शेयर निष्कासन गरी आयोजनामा लगानी जुटाउने प्रस्ताव गरिएको छ ।