काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनबाट आइतबारदेखि ६ वटा इजलास सञ्चालन हुने भएको छ । भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेसी तोकेर सुनुवाइ गर्दै आएकोमा आइतबारदेखि ११ वटा इजलास गठन गरेसँगै पूर्ण रूपमा सञ्चालन हुनेछ ।
जेनजी आन्दोलनपछि गत भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हुँदै आएको थियो । इजलास बस्ने ठाउँ अभावका कारण हाल सीमित मुद्दाको मात्रै पेसी तोकेर सुनुवाइ हुँदै आइरहेको छ ।
सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुँदैछ । ‘सर्वोच्च अदालतको नयाँ भवन निर्माणको कार्य पूरा नभए पनि हाल अस्थायी रूपमा ६ वटा थप इजलास सञ्चालनमा ल्याउन खोजेका छौँ,’ सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले भने, ‘इजलास सञ्चालनका लागि फर्निसिङको काम सम्पन्न भइसकेको छ, अब बिस्तारै फाँटहरू पनि बिस्तार गर्दै लैजाने योजनामा छौँ ।’
भवन निर्माण कम्पनीलाई ठेक्काको म्याद चैतसम्म भए पनि तत्काल इजलास गठन गर्नका लागि सीमित कोठा इजलास सञ्चालन गर्नका लागि काम गर्न निर्देशन दिइएको थियो । टेबल, कुर्सी, इन्टरनेट जडानको काम सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया