मलेखु (धादिङ) । नागढुंगा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर सडक विस्तार गरिँदै छ । सडक कालोपत्र तथा स्तरोन्नति गर्न नागढुंगा–मुग्लिन सडक आयोजनाले बुधबार (मंसिर २४) देखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गरेर काम तीव्र पारेको हो ।
आयोजनाले निकालेको सूचनाअनुसार नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा बिहान १०ः३० देखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द गरिँदै छ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिए ।
एकैपटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने र त्यसबेला दुर्घटनाको जोखिम बढ्ने भएकाले आंशिक रूपमा सडक बन्द गरेर काम गर्न लागिएको उनले जानकारी दिए ।
धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभीर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।
त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । काठमाडौं जिल्लाभित्र पर्ने नागढुंगा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।
नागढुंगा– पिपलामोड खण्डका लागि काठमाडौँतर्फबाट आउने सवारीसाधनलाई नागढुंगा चेकपोस्टमा र गल्छीबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई खानीखोला तथा जुँगेखोलामा रोकिएको छ ।
गल्छी–गजुरी खण्डका लागि नौबिसेतर्फबाट आउने सवारी साधनलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतबाट नौबिसेतर्फ आउने सवारीसाधनलाई मलेखु क्षेत्रमा रोकिएको छ ।
अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला–भीमढुंगा–रामकोट–धार्केको सडक प्रयोग गर्न सक्नेछन् ।
त्यस्तै, सामाखुसी–टोखा–छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पुल तरेर घाटबेँसीको पुल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सकिनेछ ।
एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शववाहनजस्ता अत्यावश्यक गाडी भने पनि सडक चौडा गर्नका लागि काटिएको पहराबाट सडकमा ढुंगामाटो थुप्रिएकाले आउजाउ गर्न सकिने अवस्था छैन ।


प्रतिक्रिया