डीभी कार्यक्रम स्थगित गर्ने अमेरिकाको घोषणा

डीभी कार्यक्रम स्थगित गर्ने अमेरिकाको घोषणा



काठमाडौं । अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ ट्रम्प प्रशासनले डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन् ।

अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेका आरोपित व्यक्ति आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका आएको तथ्य सार्वजनिक भएपछि यो कदम चालिएको बताइएको छ ।

प्रहरीले धेरै दिनदेखि खोजिरहेका ब्राउन विश्वविद्यालयमा गोली चलाउने ती व्यक्ति अहिले मृत अवस्थामा भेटिएका छन् ।

“यो घिनलाग्दो व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन थियो,” नोएमले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार म तुरुन्तै यूएससीआईएसलाई डिभी–१ कार्यक्रम स्थगित गर्न निर्देशन दिँदै छु । ताकि यो विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानि नहोस् ।”

नोएमका अनुसार गोली हान्ने क्लाउडियो म्यानुएल नेभ्स भालेन्टे सन् २०१७ मा यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए । उनलाई ग्रीन कार्ड जारी गरिएको थियो ।

सन् १९९० को दशकमा सुरु भएको यो कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकहरूलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ । यसमा प्राप्तकर्ताहरूलाई ‘लट्री’ प्रक्रियाबाट छनोट गरिन्छ । प्रत्येक वर्ष करोडौं व्यक्तिले यस कार्यक्रममार्फत भिसाका लागि प्रतिस्पर्धा गर्छन् ।

अमेरिकी संसद्ले बनाएको कानुनअनुसार लागु गरिएको यो कार्यक्रम नोएमले कुन कानुनी आधारमा स्थगित गर्न सक्छिन् भन्ने विषय भने स्पष्ट छैन । सीबीएसन्युजबाट