काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति पदमा गौतम दाहालले उम्मेदवारी दिने घोषणा गरेका छन् । हिजो शनिबार समितिका सबै च्याप्टर अधिवेशन सम्पन्न भएसँगै दाहालले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
दाहाल सभापतिमा उठ्ने चर्चा भइरहे पनि आधिकारिक घोषणा गरिएको थिएन । दाहालले भने, ‘मैले मेरो पदको जिम्मेवारीका कारण संगठनको काममा मात्रै सीमित थिएँ । तर आज तपाईंहरुमाँझ पहिलो पटक सभापति पदमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गर्दछु ।’ दाहाल अहिले जनसम्पर्क समिति अमेरिकाको प्रवक्ता तथा प्रचार विभाग प्रमुख छन् ।
१६ वर्षपछि हुन लागेको समितिको यो चौथो अधिवेशन हो । सन् २००९ मा बाल्टिमोर च्याप्टरको महासचिवबाट नेपाली जनसम्पर्क समितिमा जोडिएका सभापति पदका उम्मेदवार दाहाल हाल नेपाली कांग्रेसको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिका रुपमा छन् ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको हरेक नेतृत्वमा अटाएका दाहालले उम्मेदवारी घोषणासँगै भने, ‘मेरो रगतमै कांग्रेस बगेको छ, हरेक नेतृत्वसँग जोडिएर योगदान दिइरहेको छु । यसपटक ड्राइभिङ सिटमा बसेर नेपाली जनसम्पर्क समिति अमेरिकालाई नयाँ गन्तव्यमा पुर्याउन चाहन्छु । त्यसका लागि मलाई तपाईंहरुको सिर्जनात्मक शुभकामना चाहिएको छ ।’
गौतम सञ्चारकर्मी र हाल सञ्चारउद्यमीसमेत हुन् । पार्टीका हरेक गतिविधिमा प्रत्यक्ष संलग्न भएर योगदान पुर्याइरहेका गौतम ग्लोब नेपालका संस्थापक अध्यक्ष तथा प्रधानसम्पादक हुन् ।


प्रतिक्रिया