काठमाडौं । भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले बयानका लागि बोलाएपछि तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक धर्मसंकटमा परेका छन् । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले मंगलबार मात्रै नेता लेखकसँग बयान लिने निर्णय गर्दै पत्र काट्ने तयारी गरेको थियो ।
आयोगको यो कदमसँगै नेता लेखक भने बयान दिन जाने वा नजाने भन्ने विषयमा अनिर्णित बनेका छन् । यसै विषयमा ठोस निर्णय लिन उनी राजनीतिक तथा कानुनी परामर्शमा जुटेका छन् । स्रोतका अनुसार, आयोगले बोलाएको अनौपचारिक जानकारी पाए पनि आफूलाई पत्र भने प्राप्त नभएको लेखकले सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिएका छन् ।
यही द्विविधाका बीच भावी रणनीति तय गर्न नेता लेखक बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्ज पुगेका छन् । उनले सभापति देउवासँग आयोगको पत्र र आफ्नो उपस्थितिबारे गम्भीर छलफल गर्ने बुझिएको छ । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखकलाई आयोगमा बयान नदिन सुझाव दिएका छन् ।


प्रतिक्रिया