प्रचण्डको निर्वाचन क्षेत्र कहाँ ?

प्रचण्डको निर्वाचन क्षेत्र कहाँ ?



काठमाडौं । फागुन २१ मा हुने आम निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँबाट चुनाव लड्छन भन्ने चर्चाले यतिबेला राजनीतिक माहोल तातेको छ । उम्मेदवार मनोनयको छेउछाउमा निर्वाचन क्षेत्र तय गर्ने प्रचण्ड यसपटक नुवाकोट–१ मा सर्ने चर्चा पनि चलेको छ । सुरक्षित स्थानको खोजी गर्दा उनको निर्वाचन क्षेत्र ढिलो तय हुने गर्दछ ।

२०७९ को निर्वाचनमा पनि प्रचण्ड चितवन–३ बाट लड्दैछन् भन्ने कुरा त्यसको पूर्वतयारीले संकेत गर्दथ्यो । तर पछि उनी गोर्खा–२ मा चुनाव लड्न पुगे । उनको यो निर्णय सही निस्कियो । चितवन–३ बाट उनी चुनाव लडेको भए पराजित हुने रहेछन भन्ने कुरा निर्वाचन परिणामले देखायो ।

महोत्तरी–४ बाट उम्मेदवार सिफारिस भएका प्रचण्ड त्यहाँबाट चुनाव लड्ने सम्भावना न्यून छ । किनभने त्यहाँ प्रचण्ड संयोजक भएको राजनीतिक दलको प्रभाव न्यून छ । अन्य निर्वाचन क्षेत्रबाट प्रचण्डको नाम सिफारिस यो समचार तयार पर्दासम्म भएको छैन ।

प्रचण्ड गोर्खा–२ मा नै फर्किन सक्ने सम्भावना बलियो छ । तर त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी पनि चुनाव लड्दैछन् । गत निर्वाचनमा दोस्रो स्थानमा रहेका बुर्लाकोटीले यसपटक गोर्खा–२ निर्वाचन आफ्नोतर्फ सोझ्याइसकेको विश्लेषण छ ।

२०७९ को निर्वाचनमा प्रचण्डले २६ हजार १ सय ९ मत ल्याउँदा बुर्लाकोटीले १२ हजार ६ सय ३९ मत पाएका थिए । प्रचण्डलाई कांग्रेसले पनि साथ दिएको थियो । तेस्रो स्थानको एमालेका अब्दुस सलाम मियाले ७ हजार ३ सय ९५ मत पाएका थिए । यसपटक एमालेसहितको सहयोग पाए मात्र प्रचण्ड गोर्खा फर्किनसक्ने बताइएको छ ।

अहिलेसम्म प्रचण्डले चारवटा निर्वाचन फेस गरिसकेका छन् । संविधानसभाका २ वटा र २ वटा आम निर्वाचन फेस गरेका प्रचण्डले रोल्पा–२, काठमाडौं–१०, सिराहा–५, चितवन–३ र गोरखा–२ बाट चुनाव लडिसकेका छन् । अब कहाँबाट लड्छन् ?

गोर्खाबाहेक अन्य क्षेत्रमा दोहो¥याएर चुनाव लड्न जाने हिम्मत प्रचण्डसँग देखिँदैन । यसपटक नुवाकोट–१ बाट निर्वाचन लडे भने कुनै अनौठो हुने छैन । उक्त क्षेत्रबाट कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको एकल उम्मेदवार सिफारिस भएको छ । संयुक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री भएका बेला डा. महत अर्थमन्त्री थिए । सबै किसिमको जोड घटाउ मिल्यो भने मात्र प्रचण्ड डा. महतसँग भिड्न नुवाकोट–१ मा जानसक्ने आंकलन गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा एमाले पनि त्यत्तिकै बलियो मानिन्छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा प्रचण्डलाई यस्तै समस्या परेको थियो । उनले काठमाडौं–१० र सिराहा–५ बाट उम्मेदवारी दर्ता गराएका थिए । काठमाडौं–१० मा उनी तेस्रो भए । कांग्रेसका राजेन्द्र केसीले २०३९२ मत ल्याएर निर्वाचित हुँदा एमालेका सुरेन्द्र मानन्धरले १३७१५ मत पाएका थिए । काठमाडौं–१० बाट पहिलो संविधानसभाको निर्वाचनमा अत्याधिक मत ल्याएका प्रचण्डले दोस्रो संविधानसभामा १२८५२ मत मात्र पाएका थिए ।

सिराहा–५ मा पनि झिनो मतान्तरले प्रचण्ड निर्वाचित भएका हुन् । प्रचण्ड १५२४४ मत प्राप्त गरी निर्वाचित हुँदा एमालेका लीलानाथ श्रेष्ठले १४३२३ मत प्राप्त गरेका थिए । संविधानसभामा प्रचण्डलाई ल्याउनकै लागि त्यहाँ जालझेल भएको चर्चाले त्यसबेला व्यापकता पाएको थियो । पराजित श्रेष्ठलाई पछि मन्त्रीसमेत बनाइयो ।

पहिलो आम निर्वाचन चाहिँ प्रचण्डले एमालेको सहयोगमा जितेका हुन् । त्यसबेला उनी चितवन–३ बाट उम्मेदवार बनेका थिए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेलाई पराजित गरेका हुन् । प्रचण्डले ४८२७६ मत प्राप्त गर्दा पाण्डेको पक्षमा ३८९३५ मत आएको थियो ।

संविधानसभाको पहिलो निर्वाचनमा प्रचण्डको मात्र होइन, माओवादी केन्द्रको नै बोलवाला थियो । त्यसबेला प्रचण्ड काठमाडौं–१० र रोल्पा–२ बाट उम्मेदवार बनेका थिए । रोल्पा–२ मा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा माओवादीकै सन्तोष बुढा निर्वाचित भएका थिए ।

कुनै निश्चित निर्वाचन क्षेत्र नभएका प्रचण्ड यसपटक कहाँबाट उम्मेदवार बन्छन् भन्ने सर्वसाधारणमा चासो हुनु स्वभाविकै हो । उनले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र छिन्नभित्र र यतिबेला जोडजाम गरेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । त्यसमा माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेता अटाएका छन् । सबै ‘आउट डेटट’ र जेनजी आन्दोलनको मर्मविपरित भएकाले फागुन २१ को निर्वाचन उनीहरुका लागि फलामको चिउरा सावित हुने पक्काजस्तै छ ।