राष्ट्रियसभा निर्वाचन : गण्डकीमा कांग्रेस बलियो

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा कांग्रेस बलियो


ग्लोब नेपाल
189
Shares

लेखनाथ। आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनमा दलहरु केन्द्रित भएका छन् । गण्डकीबाट प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)का भगवती न्यौपानेको कार्यकाल सकिँदा ती स्थानमा चुनाव हुन लागेको हो ।

राष्ट्रियसभा निर्वाचनमा पालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरु मतदाता हुन्छन् । गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ पालिकाबाट एक सय ७० प्रमुख-उपप्रमुख मतदाता छन् । एक प्रदेशसभा सदस्य रिक्त छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ । स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी गण्डकीको कुल मतभार छ हजार तीन सय ५७ छ ।

प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बलियो देखिन्छ । कांग्रेससँग २७ प्रदेशसभा सदस्य र ६७ पालिका प्रतिनिधि गरी दुई हजार सात सय चार मतभार छ । यहाँ दोस्रो दल एमालेका २२ प्रदेशसभा सदस्य र ६८ पालिका प्रतिनिधि छन् । एमालेसँग दुई हजार चार सय ५८ मतभार छ । बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवबहादुर नेपाली निलम्बनमा परेकाले उनले मतदान गर्न पाउँदैनन् ।

साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीका यहाँ सात प्रदेश सभा सदस्य र ३१ स्थानीय तहका प्रतिनिधि गरी नौ सय ६० मतभार छ । माओवादी केन्द्रकै चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा अहिले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा छन् ।

गण्डकीमा पालिका प्रमुख वा उपप्रमुख नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई प्रदेशसभा सदस्य छन् । अहिलेको एमाले र कांग्रेसको सत्ता गठबन्धनलाई सघाइरहेको राप्रपा र प्रलोपाका सदस्यको मत कता जान्छ यकिन भइसकेको छैन ।

यहाँ दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको राष्ट्रिय जनमोर्चाको ५७ मत छ । मनाङको मनाङ डिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्रबाट विजयी छिरिङ गुरुङ भने पछिल्लो क्रममा एमाले निकट हुन् । अन्य समूह र महिलाबाट एक/एक गरी दुई सांसदका लागि हुने निर्वाचनका लागि दलहरुले तयारी थालिसकेका छन् ।

नेपाली कांग्रेसले जिल्ला जिल्लाबाट सिफारिस भइआएका नाम केन्द्रमा पठाइकसकेको छ । कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले आकांक्षीहरुको सूची केन्द्रमा पठाइएको र चुनावी तयारीमा पार्टी लागिसकेको जानकारी दिए । अध्यक्ष शर्मा पनि अन्यबाट समानुपातिकमा सिफारिस भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनका मतदाताको नामावली पुस १९ गते प्रकाशन हुनेछ भने पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ । केन्द्रमा बन्ने दलीय समीकरणअनुसार नै राष्ट्रियसभाका चुनाव हुने गरेका छन् ।