बालेनको तीब्र भेटघाटले कांग्रेस–एमालेमा तरंग

बालेनको तीब्र भेटघाटले कांग्रेस–एमालेमा तरंग

पुराना दललाई हराउन पूर्वप्रधानमन्त्रीदेखि जेनजीसम्मलाई समेट्दै बालेन



काठमाडौं । दिल्लीको सन्देश बोकेर भारतीय विदेशमन्त्री वा सचिव शुक्रबार बिहान १० बजे काठमाडौं आउने, होटल द्वारिकामा बस्ने, दिउँसो १ बजेदेखि नेपाली राजनीति दलका नेताहरुलाई लाइनमा राखेर भेट दिने, शनिबार बिहान पशुपतिनाथको दर्शन गर्ने र अपरान्ह राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेर साँझ दिल्ली उड्ने परम्परा २०८० पुस १९ गतेसम्म कायम थियो । नेपालको विषम राजनीति परिवेशमा यो क्रम एकदमै बाक्लोसँग चल्यो । दिल्लीको सन्देश मन्त्रणा गर्न पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ठ्याक्कै यस्तै नक्कल सुरु गरेका छन् । सहयोगी कुमार बेनको ललितपुर ज्वागलमा रहेको निवासलाई मुकाम बनाएर विभिन्न व्यक्तिलाई लाइनमा राखेर बालेन साहले भेट दिइरहेका छन् । यतिबेला बोलनको दर्शन गर्नेहरुमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्म रहेका छन् । फिल्मी कलाकारदेखि पत्रकार, उद्यमी र व्यवसायी मेयर बालेन भेट्न लाइनमा उभिएका छन् ।

बेन निवासमा बालेनको दर्शन गरेर फर्किनेमा पूर्वप्रधानमन्त्री डा. भट्टराई, राप्रपा नेता ज्ञानेन्द्र शाही, कांग्रेस नेता चन्द्र भण्डारी र सुनिल शर्मा, पूर्वसांसद अम्रेशकुमार सिंह, उज्यालो नेपालका अध्यक्ष तथा मन्त्री कुलमान घिसिङ, जेनजी अभियान्ता रक्षा बम, सागर ढकाल, पुरुषोत्तम यादव, सञ्चारकर्मी ऋषि धमाल, सञ्चारउद्यमी कैलाश सिरोहिया, चलचित्रकर्मी निश्चल बस्नेत, विज्ञ डा. भगवान कोइराला, केपी खनाल, भीम उपाध्याय, मिलन पाण्डेलगायत छन् ।

उनीहरुबीचको भेट कुनै नीतिगत वा सैद्धान्तिक छलफलका लागि भएको होइन । फागुन २१ गतेको आम निर्वाचनपछि आउने परिणाम र त्यसपछि भागवण्डामा केन्द्रित थियो । रास्वपा, उज्यालो नेपाल, देश विकास पार्टी, श्रम संस्कृति पार्टीलाई एकीकृत गरेर आउने निर्वाचनका लागि भागवण्डाको व्यवस्थापन कसरी सन्तुलित बनाउन सकिन्छ भन्नेमा छलफल केन्द्रित छ ।

बेन निवासको दैलोमा बसेर भेटघाटको चाँजोपाँजो प्रधानमन्त्री सुशीला कार्कीको ‘जेठो छोरा’ सुदन गुरुङले मिलाइरहेका छन् । रवि र बालेनबीचको वार्ता फलदायी नभएसम्म ढोका खोल्दिन भनेर गुरुङ आफ्ना सहयोगीका साथ ढोकामा बसेको भिडियो यतिबेला भाइरल बनेको छ ।

मेयर बालेनले यस्तो बेलामा भागवण्डा बाक्लो बनाएका छन्, जुन बेला परम्परागत राजनीतिक नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीलगायत अन्यले दोहोरो मापदण्ड अपनाएका छन् । उनीहरुले फागुन २१ को निर्वाचन नभए संसद पुनस्र्थापनाको एजेन्डा अगाडि सारेका छन् ।

सम्भव भएसम्म फागुन २१ को निर्वाचनलाई असफल बनाउने र संसद पुनस्र्थापना गरेर जेनजी सरकार विस्थापित गर्ने दलहरुको रणनीतिलाई मेयर बालेनको भेटघाटले कमजोर बनाउने विश्लेषण गरिएको छ । मेयर बालेनले यो भेटघाटलाई तिब्रता दिनुअघि प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई साक्षी राखेर शीर्ष राजनीतिक दलका नेताहरुसँग प्रत्यक्ष संवाद गरेकी थिइन् ।

रविलाई जेलमुक्त गर्नु, प्रधानमन्त्री कार्कीले राजनीतिक दलसँग संवाद गर्नु र त्यसपछि मेयर बालेन जेनजी भावना बोकेका तर छरपस्ट राजनीतिक शक्ति र व्यक्तिलाई एकजुट बनाउन कम्मर कसेर लाग्ने संयोग मात्र होइन, रणनीतिक हो भन्ने आधारहरु प्रशस्त भेटिन्छ ।

बालेनको भेटघाटको परिणाम के आउँछ, त्यो बेग्लै चर्चाको विषय हो । तर बालेनको यो भेटघाटले संसद ब्यूताउनेहरुको स्वर मलिने बनेको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीभित्र फागुन २१ को निर्वाचनमा जानुपर्छ भन्ने समूहलाई बोलेनको राजनीतिक भेटले थप बल पु-याएको छ । हेरौं परम्परागत राजनीतिक शक्तिविरुद्ध जेनजी भावनाको राजनीतिक शक्तिले कस्तो आकार लिन्छ, त्यो हेर्न केही समय कुर्नुपर्ने हुन्छ ।