बालेनका लागि काठमाडौं–१ सुरक्षित

बालेनका लागि काठमाडौं–१ सुरक्षित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मदेवारका रुपमा अगाडि सारेको बालेन्द्र साह (बालेन) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन लड्दैछन् । यद्यपि यसको औपचारिक टुंगो लागिसकेको छैन । तर बालेनका लागि सबै कोणबाट काठमाडौं–१ निर्वाचन क्षेत्र सुरक्षित ठानिएको छ ।

बालेन शाह एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न झापा–५ बाट चुनाव लड्ने चर्चा चलाइरहेका छन् । तर त्यो एमाले र केपी ओलीलाई डिमोरलाइज गर्न खपतका लागि चलाइएको चर्चा मात्र भएको जानकारहरु बताउँछन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ काठमाडौं महानगरपालिकाको १०, ११, २९ र ३१ वडा यो क्षेत्रमा पर्छ । गत स्थानीय निर्वाचनमा ३ वटा वडा १०, ११ र २९ कांग्रेस र एउटा वडा ३१ मा एमाले निर्वाचित छ । बालेन वडा नं. ३१ का स्थायी बासिन्दा हुन् ।

काठमाडौं–१ बाट दुवै संविधानसभा र दुईवटै आम निर्वाचित जितेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह यसपटक पनि उम्मेदवारका लागि पहिलो नम्बरमै सिफारिस भएका छन् । २०६४ को निर्वाचनमा नेता सिंह (१०,९३६) लाई रविन्द्र मिश्र (१०,११८) ले चुनौति दिएका थिए । पहिलो आम निर्वाचनमा मिश्र विवेकशील साझाबाट उम्मेदवार बनेका थिए । मिश्र त्यसबेला सिंहसँग ८ सय १८ मतान्तरले मिश्र पराजित भएका हुन् । एमाले र माओवादीको साझा उम्मेदवार अनिलकुमार शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए ।

२०७९ को निर्वाचनमा पनि सिंह (७,१४३) लाई मिश्र (७,०१८) ले नै चुनौति दिएका थिए । मिश्र १२५ मतान्तरले पराजित भएका हुन् । गत निर्वाचनमा बालेनको भनिएको राजनीतिक दल हाम्रो नेपाली पार्टी र रास्वपाका उम्मेदवार पनि चुनावी मैदानमा थिए । हाम्रो नेपाली पार्टीबाट डम्बर शाहुले (१५०) मत पाएका थिए भने रास्वपाका पुकार बमले (४,११५) मत प्राप्त गरेका थिए ।

एमाले उम्मेदवार किरण पौडेलले ३,५३२ मत प्राप्त गर्दा नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेलले ३,१२४ मत प्राप्त गरेका थिए । त्यसो त नेपालका लागि नेपाली पार्टीका बालकृष्ण नेउपानलेले पनि ५ सय ९० मत पाएका थिए ।

लगातार चार पटक निर्वाचित गराएर पठाएको कांग्रेसका प्रकाशमान सिंहबाट अन्य दलका भन्दा पनि कांग्रेस कार्यकर्ता नै वाक्क भइसकेका छन् । सिंहको विकल्प बन्ने प्रयास गरेका मिश्रको पार्टी राप्रपा यसपटकको निर्वाचनमा गम्भीर आन्तरिक विवादमा फसेको छ । यतिसम्मकी काठमाडौं–१ को क्षेत्रीय कार्यसमितिले मिश्रको नाम उम्मेदवारको सूचिमा समेत राखेन ।

यो निर्वाचन क्षेत्रबाट रास्वपाले जो उठाए पनि जित्ने अनुमान गरिएको छ । बालेन साह उम्मेदवार भए रास्वपा, राप्रपा, सुशासन पार्टीलगायत कोर कांग्रेसबाहेक सम्पूर्ण मत बालेनलाई पर्ने देखिन्छ । भावी प्रधानमन्त्री र काठमाडौं महानगरपालिकामा तहल्का मच्चाएका बालेनलाई जिताउन काठमाडौं–१ का जनता व्यग्र प्रतिक्षा गरिरहेको बुझ्न कठिन छैन ।