शीतलहरबाट पठनपाठनमा समस्या

शीतलहरबाट पठनपाठनमा समस्या



महोत्तरी । हुस्सु र कुहिरोका कारण अत्यधिक चिसो बढेसँगै महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएको छ । जिल्लाका १५ वटै पालिकाले विद्यालयमा बिदा दिने निकालेका छन् ।

पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले जाडो बिदाको सूचना हिजो बेलुकी नै निकालेका छन् । पाँच दिनसम्म विद्यालय बन्द गर्ने भएका छन् । यसअघि जिल्लाका भङ्गाहा, रामगोपालपुर र जलेश्वर नगरपालिकाले भने शीतलहर शुरू भएलगत्तै गत मङ्गलवार नै बिदाको सूचना जारी गरेका थिए ।

बढ्दो जाडोले खासगरी आधारभूत तहका स–साना नानीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्नसक्ने हुँदा विद्यालयमा बिदा दिने निर्णय गरिएको भङ्गाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहको भनाइ छ । जिल्लाका झन्डै सबै भेगमा पछिल्लो एक हप्तायता बाक्लो हुस्सुले ढाक्दै आएको छ ।

पछिल्ला पाँच दिनयता झनै चिसो सिरेटो आउन थालेपछि विद्यालय मात्र नभइ हाटबजारको चहलपहल पनि निकै घटेको छ । यो मौसमले खेतीपातीको काम पनि प्रभावित बनाएको किसानले बताएका छन् ।

यस्तै, हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेपछि सप्तरीका दुईवटा पालिकाले विद्यालयमा बिदा दिएका छन् । राजगढ गाउँपालिकाले बालबालिकाको स्वास्थ्य अवस्थालाई बिचार गर्दै हिउँदे बिदामा मिलान हुने गरी हिजोदेखि पुस १८ गतेसम्म विद्यालय बन्द गरेको छ ।

यस्तै, डाक्नेश्वरी नगरपालिकाले समेत प्रशासनिक कार्यबाहेक नियमित पठनपाठनको कार्य बन्द रहनेगरी विद्यालयमा बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले आज एक निकाल्दै आजदेखि लागू हुनेगरी ५ दिन बिदा दिइएको जानकारी दिए ।

नगरपालिका अन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको नगरपालिकाले जनाएको छ । केही दिनयता बढेको अत्यधिक जाडोका कारण सप्तरीसहित तराई मधेशको जनजीवन प्रभावित भएको छ ।