काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले भोलि शुक्रबार पत्रकार सम्मेलन गरेर पार्टीको पुस २७ र २८ गते हुने विशेष महाधिवेशनबारे जानकारी दिने भएको छ । पर्सी अर्थात् शनिबार महामन्त्रीद्वयले पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनको रुपरेखा र तयारीबारे जानकारी दिने केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।
गौतमका अनुसार भोलि शुक्रबार विशेष महाधिवेशन पक्षधरको सम्पर्क कार्यालय अनामनगरस्थित नबिल बैंक रहेको भवनको आठौं तलामा पत्रकार सम्मेलन हुनेछ । महामन्त्रीद्वयको पत्रकार सम्मेलनपछि मात्र सचिवालय स्थापना र कार्यतालिका सार्वजनिक हुनेछ ।
यसअघि महाधिवेशन आयोजना स्थल भृकुटीमण्डप बुक भइसकेको समाचार सार्वजनिक भएको थियो । पुस २७ र २८ का लागि एक लाख ५० हजार रुपैयाँ एड्भान्स दिइसकेको छ ।
विशेष महाधिवेशनमा देशभरिकै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य सहभागी हुने केन्द्रीय सदस्य गौतमले दाबी गरिन् । विशेष महाधिवेशनले सभापति मात्र होइन, सिंगो कार्यसमिति नै चयन गर्ने उनले बताइन् । विधानको धारा १७ (२) ले दिएको व्यवस्थाअनुसार नै विशेष महाधिवेशन आह्वान गरिएको हो ।
विशेष महाधिवेशनबारे नियमावली मौन छ नि भन्ने जिज्ञासामा केन्द्रीय सदस्य गौतमले ग्लोब नेपालसँग भनिन्, ‘विधानअनुसार नै विशेष महाधिवेशन आयोजना गरिएको हो ।’ केन्द्रीय समितिले बोलाउनुपर्ने होइन विशेष महाधिवेशन भन्ने जिज्ञासामा गौतमले भनिन्, ‘महामन्त्रीद्वय केन्द्रीय समितिकै अंग हुन्, उहाँहरुबाटै विशेष महाधिवेशन आह्वान भएको हो ।’


प्रतिक्रिया