गगन र विश्वप्रकाशले गरे कानूनविद्सँग परामर्श

गगन र विश्वप्रकाशले गरे कानूनविद्सँग परामर्श


ग्लोब नेपाल
324
Shares

काठमाडौं । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शनिबार कानूनविदसँग परामर्श गरेका छन् । महाराजगञ्जस्थित एक होटलमा थापा र शर्माले विशेष महाधिवेशनबारे परामर्श गरेका हुन् । त्यस क्रममा अधिवक्ताहरुले पार्टी विधानको प्रावधानअनुसार विशेष महाधिवेशनमा जान सुझाए ।

महाधिवेशन नभए पार्टी नेतृत्व र केन्द्रीय समितिमाथि नै कानूनी प्रश्न उठ्न सक्ने उनीहरुको भनाइ थियो । राजनीतिक दल सम्बन्धी ऐन–२०७३ अनुसार विधानअनुसार पार्टी अघि नबढे निर्वाचन आयोगले जरिवाना गर्न सक्ने भन्दै सचेत गराए ।

छलफलमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसी, पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरू यदुनाथ खनाल र प्रेम खड्कालगायत थिए ।

महामन्त्री थापा र शर्माले सभापति शेरबहादुर देउवाकै सहमतिमा विशेष महाधिवेशन आयोजना गर्ने बताए । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले आगामी वैशाख अन्तिममा १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।