बेलायत । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको संख्या धेरै रहेको दूतावासले जनाएको छ ।
कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ ।
“ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छभने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरूसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेसनल एन्टी फ्रड नेटवर्क (एक्सन फ्रड)मा उजुरी गर्नसमेत दूतावासको सुझाव छ ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायको लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए ।


प्रतिक्रिया