रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुग्यो

रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुग्यो


ग्लोब नेपाल
135
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ । पछिल्लो पटक डा. अरनीको पाँडेले नाम फिर्ता लिएपछि यो संख्या ६ पुगेको हो ।

डा. पाँडेको यो घोषणासँगै रास्वपाको समानुपातिक सूचीबाट हट्नेहरूको संख्या आधा दर्जन पुगेको छ । यसअघि नै चर्चित अनुहारहरू आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, सञ्चारकर्मी तथा अभिनेता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारीबाट अलग हुने घोषणा गरिसकेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै डा. पाँडेले बन्दसूचीमा रहिरहनुको औचित्य नदेखिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो निर्णय सार्वजनिक गरेका हुन् । पाँडेका अनुसार, अघिल्लो राति सम्पन्न केन्द्रीय समितिको बैठकमा नै उनले आफ्नो नाम सूचीबाट हटाउन नेतृत्वलाई जानकारी गराइसकेका थिए । ‘पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहनुको औचित्य नदेखी मैले बैठकमा साथीहरूलाई नाम हटाउने निर्णय सुनाएँ,’ उनले उल्लेख गरेका छन् ।