कांग्रेस केन्द्रीय कार्यालय वरपर कडा सुरक्षा व्यवस्था

कांग्रेस केन्द्रीय कार्यालय वरपर कडा सुरक्षा व्यवस्था


ग्लोब नेपाल
216
Shares

काठमाडौं । १५औं महाधिवेशनको मिति प्रस्ताव गरेलगत्तै तातेको नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई सम्बोधन गर्न आज सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । नियमित र विशेष महाधिवेशनको द्वन्द्व चलिरहेका बेला दिउँसो १ बजे बस्ने बैठकलाई अर्थपूर्ण रूपमा मात्र हेरिएको छैन, पार्टी केन्द्रीय कार्यालय सानेपा वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

गत शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएपछि हुलदंगा र कार्यकर्ताले उग्र व्यवहार देखाएपछि आज बस्ने बैठकमा सुरक्षा सर्तकता अपनाइएको पार्टी कार्यालय श्रोतले जानकारी दिएको छ । गत शुक्रबारको बैठकपछि अनाधिकृत रुपमा पार्टी कार्यालयभित्र प्रवेश गरेर हुलदंगा गर्न खोजिएको थियो । नेताहरुमाथि दुव्यहारसमेत हुन खोजेको घटनालाई मध्यनजर गर्दै आजको बैठकमा पार्टी कार्यालय वरपर नै विशेष सुरक्षा व्यवस्था गरिएको बताइएको छ ।

गत शुक्रबार बसेको बैठकले आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, यो निर्णयले पार्टीभित्रको असन्तुष्टि साम्य हुनुको साटो झन् बढेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विधानको बाध्यात्मक व्यवस्थालाई टेकेर यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी थालेपछि नेतृत्व दबाबमा परेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ, तर मुख्य एजेन्डा महाधिवेशनकै वरिपरि घुम्ने निश्चित छ । महामन्त्रीद्वयको तयारी र विधानको अङ्कगणितलाई नेतृत्वले कसरी व्यवस्थापन गर्छ भन्ने कुराले आजको बैठकको महत्त्व बढाएको छ ।