काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा भएको बैठकमा मुख्य एजेन्डा आसन्न राष्ट्रियसभा निर्वाचन, समसामयिक राजनीतिक परिस्थिति र आगामी केन्द्रीय कमिटी बैठकको तयारी रहेको छ ।
विशेषगरी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ । सोमबार साँझ मात्रै नेपाली कांग्रेस, एमाले र अन्य दलहरूबीच राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भएको थियो । सोही सन्दर्भलाई जोड्दै आजको बैठकले पार्टीका तर्फबाट उम्मेदवारहरूको अन्तिम टुंगो लगाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, बैठकमा मुलुकको पछिल्लो राजनीतिक समीकरण र समसामयिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आन्तरिक तथा बाह्य रणनीति तय गरिने छ । एमालेले यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा दोस्रो केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त बैठकमा पेस गरिने प्रस्तावहरूलाई अन्तिम रूप दिने कार्यसूची समेत आजको सचिवालय बैठकमा रहेको छ ।


प्रतिक्रिया