पार्टी फुट्ने अवस्था आए विशेष महाधिवेशन हलबाट बाहिरिने छुः विश्वप्रकाश

पार्टी फुट्ने अवस्था आए विशेष महाधिवेशन हलबाट बाहिरिने छुः विश्वप्रकाश


ग्लोब नेपाल
432
Shares

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुट्ने अवस्था आए आफू विशेष महाधिवेशन हलबाट बाहिरिने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले आफू र अर्का महामन्त्री गगन थापाले पार्टी फुटाउनका लागि विशेष महाधिवेशन आयोजना नगरेको प्रष्टीकरण दिएका हुन् ।

संस्थापनले वैशाख अन्तिममा नियमित महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिबाट गरेपछि थापा र शर्माले आगामी २७ देखि २९ पुसम्म काठमाण्डूमा विशेष महाधिवेशन आह्वान गरेका छन् ।

सभापति शेरबहादेर देउवा पक्षले भने महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनले पार्टीलाई फुटको दिशामा लैजाने भन्दै सहभागी नहुन भनेको छ । ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन’, शर्माले लेखेका छन्, ‘यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’

बदलिएको राष्ट्रिय परिस्थिति, नयाँ चुनौतीमा विशेष महाधिवेशन गर्नैपर्ने तर्क शर्माको छ । आजको नेपाल भदौ २३ अगाडिको नेपाल नभएको भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि विशेष महाधिवेशन आवश्यक रहेको बताए । मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले राम्रो परिणाम दिने तर्क उनको छ ।