काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने चुनावमा मतदान गर्न जान सङ्कोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ ।
तोकिएको समयमा चुनाव सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको टिका–टिप्पणी भइरहेका बेला आजको पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुनेमा ढुक्क रहन आग्रह गरेका हुन् ।
उनले भने, ‘सुरक्षाको कारणले चुनावमा मतदान गर्न जान सङ्कोच मान्नुपर्ने अवस्था छैन । सुरक्षा निकायको नेतृत्वमा सम्बन्धित मन्त्रालयको नेतृत्वमा र आयोगको सहजीकरणमा चुनावका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउनका लागि कार्य भइरहेको कुरा जानकारी गराउन चाहन्छु ।’
प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम गरिरहेको समेत बताए । उनले आउँदो चुनावमा बदर मत घटाउनका लागि आवश्यक रणनीति तय गरि अघि बढ्ने जानकारी दिए ।


प्रतिक्रिया