काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाण्डाैको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया शुरू भइरहेको छ । बिहान ९ बजेदेखि शुरू भएको नाम दर्तामा दिउँसो साढे १ बजेसम्म १ हजार ३ सय २७ प्रतिनिधिले नाम दर्ता गरेका विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।
कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशमा रहेकाे जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन शुरू हुनुअघि सहभागीले काठमाडौंका विभिन्न ६ ठाउँबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशनको केहीबेर अगाडि भृकुटीमण्डमा उद्घाटनसमेत भएको छ ।
संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ ।


प्रतिक्रिया