काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतको अगुवाइमा खोलिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबीच चुनावी तालमेलको प्रयास भएको छ।
दुवै पार्टीले निर्वाचन आयोगमा अलग-अलग समानुपातिक सूची बुझाइ सकेका छन्। तर, अब प्रत्यक्ष चुनावका लागि एक अर्कालाई सहयोग गर्ने गरी दुई पार्टीबीच सहकार्यको प्रयास भएको हो।
आइतबार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपाका अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीबीच यसबारे छलफल भएको हो। उनले छलफलको थालनी भएको र सकारात्मक भएको बताए।
‘सहकार्य गर्नको निम्ति छलफल भयो,’ भेटमा सहभागी एक नेताले भने, ‘भर्खरै छलफल सुरु भएको छ। छलफल सकारात्मक भएको छ। छलफललाई जारी राख्ने सहमति भएको छ।
साम्पाङ र किराँती दुवैले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनाव सुनसरी-१ बाट लड्ने घोषणा गरेका छन्। यदि, दुई पार्टीबीच चुनावी तालमेलको सहमति भए एक जनाले त्यो क्षेत्र छोड्ने छन्। दुवै दल पहिलो पटक चुनावमा भाग लिँदै छन्।


प्रतिक्रिया