तेहरान । इरानमा सरकारविरोधी प्रदर्शन चर्किएसँगै स्थिति निकै भयावह बनेको छ । बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन अहिले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको शासन अन्त्यको मागमा मोडिएको छ ।
बीबीसी र विभिन्न मानवअधिकारवादी संस्थाहरूका अनुसार सरकारी दमनमा परी अहिलेसम्म सयौँ प्रदर्शनकारीले ज्यान गुमाइसकेका छन् । राजधानी तेहरानसहित देशका विभिन्न सहरहरू ‘युद्ध मैदान’ जस्तै बनेका छन् । तेहरानको एक मुर्दाघरमा मात्रै १८० वटा शव राखिएका झोलाहरू देखिएका छन् भने देशभर ४९५ प्रदर्शनकारी र ४८ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भएको छ ।
प्रदर्शनकारीलाई दबाउन सुरक्षा बलले अन्धाधुन्ध गोली प्रहार गरिरहेको र अस्पतालहरू लास तथा घाइतेले भरिएको प्रत्यक्षदर्शीले बताएका छन् । कतिपय ठाउँमा ट्रकमा राखेर शवहरू लैजाने गरिएको र युवाहरूको टाउको तथा मुटुमा सिधै गोली हानिएको सूचना बाहिर आएको छ ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको स्वतन्त्रताका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन् । अमेरिकाले प्रदर्शनकारीको हत्यालाई लिएर इरानमाथि सैन्य आक्रमण, साइबर आक्रमण वा थप कडा प्रतिबन्ध लगाउन सक्ने विकल्पबारे छलफल गरिरहेको छ ।
अमेरिकी चेतावनीपछि इरानले पनि कडा प्रतिवाद गर्ने धम्की दिएको छ । इरानको संसद्का सभामुखले यदि अमेरिकाले आक्रमण गरेमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा, जहाज र इजरायलमाथि समेत आक्रमण गर्ने चेतावनी दिएका छन् ।
इरानी महान्यायाधिवक्ताले प्रदर्शनकारीलाई ‘भगवानको शत्रु’ करार गर्दै मृत्युदण्डको सजाय हुन सक्ने बताएका छन् । सरकारले सूचना बाहिरिन नदिन इन्टरनेटमा प्रतिबन्ध लगाएको छ भने यस झडपलाई अमेरिका र इजरायलविरुद्धको ‘राष्ट्रिय युद्ध’ भन्दै मारिएकाहरूको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ ।


प्रतिक्रिया