काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेकाे छ ।
विशेष महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र शुरु भएको छ । बन्दसत्रले सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ । संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेको बेला निर्वाचन समिति गठन गरिएको हो ।
निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहनुभएको छ । महामन्त्री थापा र शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।
यसैबीच संस्थापन पक्षको आह्वानमा आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजेका लागि सारिएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने गरी सारिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । तर विशेष महाधिवेशन पक्षधर नेताहरु भने कार्यसमितिको बैठकमा उपस्थित नहुने भएका छन् ।


प्रतिक्रिया