काठमाडौं । नेपाली कांग्रेसले ५ वर्षका लागि सााधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको महामन्त्री गगन थापालाई ‘विशेष महाधिवेशन’ ले बुधबार सभापतिमा निर्विरोध निर्वाचित गरेको छ । गगनलाई सभापतिमा निर्वाचित गरेसँगै १२ सदस्य पदाधिकारी पनि चयन भएका छन् ।
उपाध्यक्षमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् । सहमहामन्त्रीमा डिला संग्रौला, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदयशमशेर राणा, मुक्ता यादव, फरमुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा विभिन्न क्लस्टरबाट पदाधिकारी बनेका छन् ।
उपाध्यक्ष शर्मा र महामन्त्री घिमिरेबाहेक सबैले वर्तमान सभापति शेरबहादुर देउवाबाट सेवा गर्ने अवसर र पाउनुपर्ने सुविधा लिइसकेका छन् । दोस्रो पटक प्राप्त नभएपछि सभापति देउवालाई धारे हात लगाएर तत्कालीन महामन्त्री गगनको फेरो समाउन पुगेका हुन् ।
‘विशेष’ उपाध्यक्ष शर्मा १४ औं महाधिवेशनमा प्रकाशमानसिंह समूहबाट महामन्त्रीमा निर्वाचित भएका हुन् । देउवा र शेखर समूहले टिममा नराखेपछि शर्मा प्रकाशमान सिंहको समूहमा महामन्त्रीमा लड्न पुगेका थिए । उनी महामन्त्रीमा निर्वाचित पनि भएका थिए । २०७९ को निर्वाचनमा झापा–१ बाट निर्वाचित शर्मा त्यसभन्दा अघि सोही निर्वाचन क्षेत्रबाट दुई पटक पराजित भएका थिए । माओवादी गठबन्धन भएका बेला उनी निर्वाचित भएका हुन् ।
अर्का उपाध्यक्ष पुष्पा भुसालले सभापति देउवाबाट आफूले मात्र सुविधा लिइनन्, पति डा. चोपलाल भुसाललाई समेत बंगलादेशको राजदूत बनाउन सफल भएकी थिइन । त्यसभन्दा भुसाललाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको थियो । पुष्पाले कांग्रेसबाट उपसभामुख, संसदीय दलमा सचेतक, संविधानसभा सदस्य, महिला संघको महासचिव र कांग्रेसको महिला विभाग, कानुन विभागलगायतमा अवसर पाइसकेकी छन् ।
महासचिव बनाइएका प्रदीप पौडेल गुट फेर्दै गगन भएको ठाउँमा पुगेका हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका प्रदीप १४ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार थिए । पछिल्लो समय गगनको सिफारिसमा स्वास्थ्यमन्त्री भएका पौडेल तनहुँका हुन् । ०७४ को निर्वाचन तनहुँबाट पराजित भएका पौडेलले ०७९ मा काठमाडौं–५ बाट निर्वाचित भएका हुन् ।
अर्का महामन्त्री घिमिरे अभागी नेताका रुपमा परिचित छन् । मोरङबाट उदाएका घिमिरे १४ औं महाधिवेशनमा प्रदेश सभापतिमा १ मतले पराजित भएका हुन् । विद्यार्थी राजनीतिमा चम्केका घिमिरेको वृत्ति विकासमा मुलतः कोइरालाहरु बाधक बनेको पृष्ठभूमि भेटिन्छ । उनको खेमा परिवर्तनलाई अस्वभाविक मान्न नसकिने कांग्रेसजनहरु बताउँछन् ।
कुनै निर्वाचन क्षेत्र बनाउन नसकेकी सहमहामन्त्री डिला संग्रौलालाई जहिले पनि मनोनित पदमा लैजानुपर्ने बाध्यता छ । गुट परिवर्तन गरिराख्ने डिलालाई यसपटक उम्मेदवार छनोट गर्दा बनाइएको मापदण्ड बाधक बन्यो । समानुपातिकमा पहिले अवसर पाइसकेकालाई यसपटक टिकट नदिने निर्णयपछि उनी संस्थापन समूहसँग बिच्केकी हुन् ।
सुदूरपश्चिमको पहाडी जिल्लाका प्रकाश स्नेही काठमाडौं बसोबास गर्छन् । चुनाव लड्ने हैसियत नराख्ने प्रकाश शेखर कोइराला समूहका हुन् । दलित क्लस्टरबाट शेखर समूहको भाग खोज्ने प्रकाश पछिल्लो समय गगन समूहमा समावेश भएका हुन् ।
बागमति प्रदेशको मुख्यमन्त्रीबाट हटाएपछि संस्थापन समूहसँग रिसाएका बहादुरसिंह लामा नुवकोटका हुन् । शेखर समूहको तेजोबद गर्न प्रदेश सांसद लामालाई संस्थापन समूहले धेरै तिकडम गरेर संसदीय दलको नेता बनाएको थियो । मुख्यमन्त्री भएपछि सभापति देउवालाई नै चुनौति दिन थालेपछि ईन्द्र बानियाँलाई अगाडि सारिएको थियो ।
देउवा पत्नी आरजु राणासँग साइनो जोडेर लाभको पद हासिल गरेका ललितपुरका उदयशमशेर राणाको सभापति देउवासँग त्यत्तिबेला सम्बन्ध बिग्रियो, जति बेला नवराज सिलवाललाई आईजीपी बनाउन सिफारिस बोकेर बालुवाटार छिरेका थिए । देउवाले ललितपुरको टिकटबाहेक उदयशमशेरले केही पाएनन् । त्यसअघि अर्थराज्यमन्त्रीसम्म देउवाले बनाएका थिए । अवसरकै लागि उनले गगनको फेरो समातेका हुनभन्दा फरक पर्दैन ।
धनुषाकी मुक्ता यादव, फरमुला मन्सुर, दाङ–१ का योगेन्द्र चौधरी र डोल्पाका कर्णबहादुर बुढाहरु अवसरकै खोजीमा विशेष महाधिवेशनमा छिरेका हुन्भन्दा अतिसंयुक्ति हुँदैन ।
पदको महत्वकांक्षा बढेपछि नेपाली कांग्रेस विभाजन भएको पुराना नेता विनयध्वज चन्दले बताए । गगनको कार्यसमितिमा रहेका जति पनि छन्, ती दुई खालको भएको उनले बताए । उनले भने, ‘एउटा समूह अवसरवादी हुन् भने अर्को दास मानसिकताबाट माथि उठ्न नसकेकाहरु गगनको कार्यसमितिमा छन् ।’
‘जुन दिन नेपाली कांग्रेसले सत्ताको राजनीति गर्नेछ, त्यसपछि नेपाली कांग्रेस निरर्थक भएर जानेछ’ भन्ने बीपी कोइरालाको भनाइ उदृत गर्दै पुराना नेता चन्दले भने, ‘कांग्रेसमा आजको स्थितिबारे बीपीले त्यही बेला बुझिसक्नु भएको रहेछ ।’


प्रतिक्रिया