सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए

सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए



म्याग्दी । यहाँका एक किसानले १२० मुरी धान भित्र्याएका छन् । मङ्गला गाउँपालिका-२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिमाणको धान फलाएका हुन् । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन् ।

‘एक सय रोपनी खेतमा एक सय ५० मुरी धान फलाउने लक्ष्य थियो । गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो ।’ सिमकाजी ब्रर्दश भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँखेतीका साथै उनले भैँसीपालन गरेका छन् ।

म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, सेरा, पिपलबोट, रणवाङ्ग र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ । खत्रीका पुर्खाहरूले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए ।

‘घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्छु’, उनले भने, ‘धान प्रतिपाथी चार सय र चामल एक हजारका दरले बिक्री हुन्छ ।’ घरमै उनले मिल पनि राखेका छन् ।

पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरीया जातको धान म्याग्दीको रैथाने बाली हो । सहरबजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारीहरू गौरिया धानको चामलका उपभोक्ता छन् ।

‘गौरीया धान पाक्दा खेत नै बसाउँछ । भान्छा कोठामा गौरियाको भात पकाउँदा आँगनसम्मै बास्ना आउँछ । गौरीयाको भात खाइरहेकालाई अरु धानको भात रुच्दैन, गौरीया नै खोज्छन्’, उनी भन्छन् ।

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरीया नाम राखिएको सिमका किसान राजाराम उपाध्याय बताउँछन् । गौरीया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पीठोका लागि उपयुक्त हुन्छ । न्यानो ठाउँमा हुने गौरीया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपिने गौरीया कात्तिक १५ आसपासमा पाकेर भित्र्याउने हुन्छ ।

गौरीया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरीयाको उत्पादकत्व कम हुन्छ । पकाउँदा भात बढी देखिने गौरीया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुत्केरी, किरिया बसेकाहरूलाई गौरीया धानको चामलको भात उपभोगी हुने बताइन्छ ।

पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैँसीपालन र बेनी-दरवाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गरेका छन् । वार्षिक १० लाखभन्दा बढीको धान, चामल, दूध, खसीबोका र कुखरा बिक्री हुने उनले सुनाए । एकवटा स्थानीय लिमे-पारकोटे र दुईवटा उन्नत मुर्रा जातको भैँसी पालेका छन् उनले । हाल दैनिक १० लिटर दूध बिक्री गरिरहेकव र बढाउने सोचमा रहेको उनले बताए ।

एक जनालाई नियमित, खेती लगाउने र भित्र्याउने समयमा दैनिक ४० जना जनालाई रोजगारी दिन्छन् उनी । युवाहरू विदेशिने बढी भएकाले खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, जलवायु परिवर्तनका कारण खेतीपात्रो परिवर्तन हुँदा चुनौती थपिएको उनको भनाइ छ ।

रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका खत्रीका परिवारको बसोबास २०७६ सालअघि पोखरामा थियो । कोरोनाताका लकडाउनमा उनीहरू पोखराबाट जन्मथलो फर्किएका हुन् ।

‘हाम्रा हजुरबुबाका पाँच परिवार सन्तान हामीहरू विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन अरुलाई नै अधिया र बन्दकी दिएका थियौँ । कोरोनापछि गाउँ फर्किएर मेरो पुर्ख्यौलीका साथै दाजुभाइको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धानखेती गर्दै आएको छु’, उनी भन्छन् ।

पुर्खाहरूले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ चलाएर खत्रीले पाहुनालाई रैथाने गौरीया धानको भात, भैँसीको दूधदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाएका छन् ।