फ्रान्स र नेटोका युरोपियन सदस्यले ग्रिनल्यान्डमा सेना पठाउने

फ्रान्स र नेटोका युरोपियन सदस्यले ग्रिनल्यान्डमा सेना पठाउने



काठमाडौं । अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्ने बताएपछि फ्रान्स र नेटोका युरोपियन देशहरूले ग्रिनल्यान्डमा सैन्य अभ्यासका लागि सेना पठाउने भएका छन् ।

डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिहरूले अमेरिकासँग आफूहरूको व्यापक मतभेद रहेको बताएको एक दिनपछि यो घटनाक्रम सार्वजनिक भएको हो । अमेरिकाले डेनमार्कको उक्त स्वायत्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ग्रिनल्यान्डमा जारी युरोपेली सैन्य अभ्यासका लागि आफ्नो देशले थप स्थल, जल र वायु सेनाका टोलीहरू पठाउने घोषणा गरेका छन् ।

म्याक्रोनले जहाँ युरोपेली हित र क्षेत्रीय सार्वभौमसत्तामा खतरा पैदा हुन्छ, त्यहाँ फ्रान्सको उपस्थिति अनिवार्य हुने स्पष्ट पारेका छन् ।

म्याक्रोनले विश्वमा रूस र इरानजस्ता अस्थिरता फैलाउने शक्तिहरूको प्रभाव बढिरहेको भन्दै त्यसको जवाफमा युरोपले आफ्नो रक्षा क्षमता सुदृढ गर्नुपर्ने बताए ।

म्याक्रोनले आफ्नो स्वतन्त्रता कायम राख्न शक्तिशाली हुनु र द्रुत गतिमा कारबाही गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् ।

आफ्नो सैन्य शक्तिलाई थप सशक्त बनाउन फ्रान्सले रक्षा बजेटमा ठूलो वृद्धिको घोषणा गरेको छ । सन् २०३० सम्ममा हालको रक्षा खर्चमा ३६ अर्ब युरो थप गरिने बताएको छ । यो रकम पहिले नै तय गरिएको ४१३ अर्ब युरोको बजेट भन्दा अतिरिक्त हुने बताइएको छ ।

यो लगानीको मुख्य उद्देश्य फ्रान्सलाई प्राविधिक र रणनीतिक रूपमा यति सक्षम बनाउनु हो । उसले कुनै पनि बाह्य खतराको डटेर सामना गर्न सकोस् भन्ने रक्षा बजेट बढाउनुको कारण हो ।