कांग्रेसद्वारा शुक्रबार बिहानै निर्वाचन आयोगमा शक्ति प्रदर्शन

कांग्रेसद्वारा शुक्रबार बिहानै निर्वाचन आयोगमा शक्ति प्रदर्शन


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्वको लडाइँ औपचारिक रूपमै निर्वाचन आयोगको दैलोमा पुगेको छ । गगन–विश्व समूहले ‘दोस्रो विशेष महाधिवेशन’ मार्फत गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरेपछि संस्थापन पक्षले आफ्नो आधिकारिकता जोगाउन शुक्रबार बिहानै निर्वाचन आयोगमा शक्ति प्रदर्शन गरेको हो ।

कान्तिपथस्थित आयोगको कार्यालयमा देउवा पक्षका शीर्ष नेतादेखि कार्यकर्तासम्मको बाक्लो उपस्थिति छ । गगन थापा नेतृत्वको समूहले बिहीबार मात्रै आधिकारिकताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो । सोही निवेदनको प्रतिवाद गर्न र देउवा नेतृत्वको कांग्रेस नै वैधानिक रहेको दाबी पेस गर्न नेताहरू आयोग पुगेका हुन् ।उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, डा. मीनेन्द्र रिजाल, एनपी साउद, श्याम घिमिरे, धनराज गुरुङ, कल्याण गुरुङ र जीतजंग बस्नेत लगायतका नेताहरू आयोग पुगेका छन् । केन्द्रीय पदाधिकारी, सदस्यहरू, जिल्ला सभापतिहरू तथा भ्रातृ संगठनका प्रतिनिधिहरू सहितको टोलीले आयोगका पदाधिकारीहरूसँग छलफलको तयारी गरिरहेको छ ।

आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कल्याण गुरुङले आफूहरू नै आधिकारिक कांग्रेस भएको जिकिर गरे । उनले भने, ‘हामी केन्द्रीय पदाधिकारी र विभिन्न तहका प्रतिनिधिहरू यहाँ जम्मा भएका छौँ । देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक नेपाली कांग्रेस हो । यही विषयमा स्पष्ट पार्न र आयोगका पदाधिकारीसँग छलफल गर्न हामी आएका हौँ ।’