निर्वाचन आयोग धम्कीबाट प्रभावित हुँदैन भन्नेमा विश्वस्त छौं : विश्वप्रकाश शर्मा

निर्वाचन आयोग धम्कीबाट प्रभावित हुँदैन भन्नेमा विश्वस्त छौं : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले विधान कार्यान्वयन गर्नको लागि विशेष महाधिवेशन आह्वान गरेकाे बताएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा बोल्दै आफूहरूलाई कारबाही गर्दा केन्द्रीय कार्यसमिति विघटन भइसकेको जिकिर गरे । केन्द्रीय कार्यालय महामन्त्री मातहत हुने भएकाले विधान अनुसार नै विशेष महाधिवेशन आह्वान भएको जिकिर गरे ।

विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै कांग्रेसको आधिकारिक रहेको दाबीसहित उनले भने, ‘कारबाही गर्ने कुरा कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै गरेको हो । नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही भएन ।’

उनले २९ जना महाधिवेशन प्रतिनिधिहरूले अहिलेसम्म नाम फिर्ता लिएको बताए । उनले आधिकारिकता दिनको लागि आयोग धम्कीबाट प्रभावित नहुने विश्वास व्यक्त गरे ।

देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पक्षमा निर्णय नआए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

उनले भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौँ भनेर केही बेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौँ । यस्ता धम्कीबाट आयोग प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा विश्वस्त छौँ ।’

उनले आफूहरू १६५ क्षेत्रमा तोकिएकै समयमा उम्मेदवार दर्ता गर्ने तयारीका साथ अघि बढेको बताए ।