निर्वाचन आयोगमा कांग्रेस विशेष महाधिवेशन पक्षको धर्ना

निर्वाचन आयोगमा कांग्रेस विशेष महाधिवेशन पक्षको धर्ना



काठमाडौं । नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूले निर्वाचन आयोगमा धर्ना दिएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकताको माग गर्दै उनीहरूले निर्वाचन आयोगमा धर्ना दिएका हुन् ।

शुक्रबार दिउँसो नेपाली कांग्रेसका नेताहरू आयोग अगाडि पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रबार बिहान कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले आफूहरू आधिकारिक भएको दाबिसहित आयोगमा निवेदन दिएका थिए ।

आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने बताएको छ ।

अहिले गगन थापाको नेतृत्वको केन्द्रीय कमिटीलाई नै आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना भएको हो । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति अध्यावधिक गर्न बिहीबार आयोगमा निवेदन दिएको थियो ।