देशमा आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्छ : ओली

देशमा आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरूलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् । लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो ।

शुक्रबार काठमाडौंकाे एक कार्यक्रममा बोल्दै उनले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग लोकतन्त्र बचाउनका लागि सहकार्य गर्दै अघि बढ्ने समेत बताए ।

देशभक्त र लोकतान्त्रिक शक्तिहरू आगामी निर्वाचनमा प्रतिस्पर्धी नहुने ओलीको भनाइ थियो । उनले संविधान, राजनीति, राजनीतिक दलका नेताहरू नचाहिने तत्वले देशमा आतंक फैल्याउने काम गरिरहेको बताए ।

‘अहिले म भन्न चाहन्छु एमालेको तर्फबाट–हाम्रो प्रतिस्पर्धा कसैसँग छैन । देशभक्त, लोकतान्त्रिक शक्तिहरूसँग प्रतिस्पर्धा छँदै छैन । लोकतन्त्र बच्योभनेन प्रतिस्पर्धा गर्ने हो । लोकतन्त्र नै बचेन भने के मा प्रतिस्पर्धा गर्ने हो ? त्यसकारण अहिलेको कुरा हो लोकतन्त्र । हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन् । हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने असंवैधानिक लोकतन्त्रविरोधी संसद् विघटनकर्ताहरू, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने यस्ता तत्वहरू हुन्,’ उनले भने ।

अध्यक्ष ओलीले असंवैधानिक लोकतन्त्रविरोधी संसद् विघटनकर्ताहरू, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्वहरू भएको समेत बताए ।