पार्टीका सबै नेता/कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न गगनको आह्वान

पार्टीका सबै नेता/कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न गगनको आह्वान



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता/कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिएसँगै सभापति थापाले विज्ञप्ति निकालेर नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गरेका छन् ।

विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सहमत भएका वा नभएका सबैलाई उनले संयमता अपनाउन, जिम्मेवार बन्न र एकताबद्ध बन्न आह्वान गरेका हुन् । उच्च आत्मविश्वास र तयारीका साथ अबको चुनावमा लाग्नुपर्नेमा उनको जोड छ । पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहेकाहरुबाट लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने थापाको विश्वास छ ।

पार्टीको संस्थापन पक्षको विमतीकाबिच विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको उपस्थितिमा चयन गरेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले हिजो मान्यता दिएको हो । गएको पुस २७ देखि ३० गतेसम्ममा काठमाण्डौको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । यो कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक ठहर गरेको छ ।

निर्वाचन आयोगले कांग्रेसको विधानमा रहेका प्रावधानलाई मुख्य आधार बनाएर आधिकारिकतासम्बन्धी निर्णय गरेको जनाएको छ । संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, दलसम्बन्धी नियमावली, २०७४ र दलको विधानसम्मत भए गरेको देखिएको आयोगले उल्लेख गरेको छ । विधानको धारा १७ (२) मा ४० प्रतिशत प्रतिनिधिले विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरे ३ महिनाभित्रमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै असोज २९ मा निवेदन दिएका थिए । त्यसलाई केन्द्रीय कार्यसमितिले बेवास्ता गरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका थिए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधान, पार्टी निर्णय, आयोगमा गरिएको पत्राचार हेरेर विशेष महाधिवेशन वैध रहेको निष्कर्षमा पुगेको बताएका छन् ।

निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले राजनीतिक र कानुनी लडाईँ लड्ने जनाएको छ । आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने संस्थापन पक्षको तयारी छ ।

गगनको अपिल :

एकताबद्ध भएर अघि बढ्न सबैमा हार्दिक अपील।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं।
यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो।

यसले स्थापित गरेको छ – पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।

विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु – यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन – कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ।

यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।

आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन – जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।

नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ – अब कांग्रेस बदलिएको छ, बदलिनेछ।

अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ – नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ – यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।

अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौं, समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपील गर्दछौं। जय नेपाल !
तपाईंको सभापति
गगनकुमार थापा
२०८२ माघ २ गते