काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट नगरेको देउवाको सचिवालयले बताएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले एक सूचना जारी गरी विशेष महाधिवेशनले कांग्रेसको नयाँ कार्यसमिति चयन गरेयता उनीहरूसँग भेटघाट नगरेको बताएका हुन् ।
गगन-विश्वसँग देउवाको भेट भनेर गरिएको प्रचार गलत भएको सचिवालयले उल्लेख गरेको छ । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूसँग पूर्वमहामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही सञ्चारमाध्यमहरूमा समाचार आएको देखिएको तर हालसालै उहाँहरूसँग सभापतिज्यूको भेटघाट नभएको जानकारी गराइन्छ’, भानुले भनेका छन् ।
गएको पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा चयन गरेको नयाँ कार्यसमितिलाई निवार्चन आयोगले गत शुक्रबार आधिकारिक पार्टीको मान्यता दिइसकेको छ । तर पनि देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै अदालत जाने निर्णय गरेको छ ।


प्रतिक्रिया