काठमाडाैं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।
एमाले प्रचार विभागले मंगलबार बेलुका पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा नयाँ अनुहारलाई अवसर प्रदान गरेको जानकारी दिएको हो ।
‘एमालेले यो निर्वाचनमा देशभर ५४.५४ प्रतिशत युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ’, एमाले प्रचार विभाग प्रमुख मीन बहादुर शाहीले आफ्ना उम्मेदवारहरूलाई निर्वाचित गराउन मतदाताहरूलाई आग्रह गर्दै भने, ‘मधेस र सुदूरपश्चिममा ५०/५० प्रतिशत । कोशीमा ५३.५७ प्रतिशत नयाँ अनुहार ।कर्णालीमा ७५ प्रतिशत नयाँ अनुहार अगाडी सारेको छ भने लुम्बिनीमा ४२.३० प्रतिशत । बागमती र गण्डकीमा ६० र ६१.११ प्रतिशत नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।’
एमालेले नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा यो निर्वाचनलाई लिएको जनाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीले झापा–५, महासचिव शङ्कर पोखरेल–दाङ २, उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही–२, गोकर्ण विष्ट–गुल्मी २ तथा पृथ्वी सुब्बा गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया