कांग्रेसमा ६४ प्रतिशत नयाँ उम्मेदवार

कांग्रेसमा ६४ प्रतिशत नयाँ उम्मेदवार


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै उम्मेदवार छनोट प्रक्रियामा उल्लेखनीय सुधारको अभ्यास गरेको छ । सभापति गगन थापाको नेतृत्वमा पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि छोटो समयमै १६५ (सबै) निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाउँदै नयाँ र युवा अनुहारलाई प्राथमिकता दिएको हो ।

नेतृत्व फेरिएको केही दिनभित्रै उम्मेदवार छनोट गर्दा नयाँलाई प्राथमिकता दिनु फरक अभ्यास मानिएको छ । यस क्रममा पार्टीले विवादित तथा छवि कमजोर भएका व्यक्तिलाई टिकट नदिने नीति अपनाएको छ भने उम्मेदवार बनाउँदा हालसम्म अवसर नपाएकालाई प्राथमिकता दिएको बताइएको छ । कांग्रेसबाट यस पटक कुल उम्मेदवारमध्ये झण्डै ६४ प्रतिशत नयाँ व्यक्तिले टिकट पाएका छन् । कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवारी दिएको १६५ जनामध्ये १०६ जना नयाँ अनुहार छन् ।

साथै,यस पटक कांग्रेसले प्रत्यक्षतर्फ ११ जना महिलालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ पाँच महिलाले मात्रै टिकट पाउँदा सीता गुरुङमात्र निर्वाचित भएकी थिइन् । महिला उम्मेदवारी बढाउनु पार्टीको सकारात्मक सन्देश भएको कांग्रेस नेताहरूको भनाइ छ । पार्टी नेतृत्वले अपवादबाहेक विवादित र छवि कमजोर भएका नेतालाई टिकट नदिएको जनाएको छ । उम्मेदवारी सूचीमा विज्ञ, पेसागत पृष्ठभूमि र समाजमा राम्रो छवि बनाएका नेतालाई प्राथमिकता दिइएको कांग्रेसको दाबी छ ।

काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये महामन्त्री प्रदीप पौडेल (काठमाडौं-५) बाहेक सबै नयाँ उम्मेदवार छन् । काठमाडौं-१ मा प्रबल थापा, काठमाडौं-३ मा रमेश अर्याल, काठमाडौं-६ मा कृष्ण सबुज बानियाँ, काठमाडौं-८ मा सपना राजभण्डारी, काठमाडौं-९ मा नानु बास्तोला, काठमाडौं-१० हिमाल कार्की, काठमाडौं-४ मा सचिन तिमिल्सिना चुनावी मैदानमा छन् ।

दोलखामा अजयबाबु शिवाकोटी, रामेछापमा रामचन्द्र खड्का, सिन्धुली-१ मा उज्ज्वल बराल, काभ्रे-१ मा गुणराज मोक्तान, सिन्धुपाल्चोक-१ मा जंगबहादुर लामा, सिन्धुपाल्चोक-२ मा वंशलाल तामाङ, धादिङ-१ मा कृष्ण रिजाल र धादिङ-२ मा रमेशप्रसाद धमलाले पहिलो पटक कांग्रेसको टिकट पाएका छन् ।

त्यस्तै, गोरखा-१ मा प्रेमप्रकाश खत्री, गोरखा-२ मा प्रकाशचन्द्र दवाडी, लमजुङमा गमप्रसाद गुरुङ र कास्की-१ मा तिलकबहादुर रानाभाट उम्मेदवार बनेका छन् । इलाम-१ मा निस्कल राई र रोल्पामा अर्थविद् सुदन ओली कांग्रेसका नयाँ अनुहारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन गर्दा ८९ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो । त्यति बेला कांग्रेस ५७ सिटमा सीमित भएको थियो ।