रास्वपा सभापति रवि लामिछानेको विवाद हेर्न नमिल्नेमा

रास्वपा सभापति रवि लामिछानेको विवाद हेर्न नमिल्नेमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन विवादमा बिहीबार (माघ ८) सुनुवाइका निम्ति पेसी तय गरिए पनि ‘हेर्न नमिल्ने’ भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले मुद्दा संशोधनका निम्ति गरेको निर्णय अवैध रहेको दाबीसहित सर्वोच्च अदालतमा भिन्नाभिन्नै तीन रिट दायर गरिएको थियो । बिहीबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका निम्ति पेसी तोकिएको थियो । ती रिट ‘हेर्न नमिल्ने’ भएको सर्वोच्चको पेसी सूचीमा जनाइएको छ ।

लामिछानेको मुद्दा संशोधन प्रकरणमा सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्तासँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका निम्ति छलफलमा डाकेको थियो ।

लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन निर्णय रोक्न माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल ‘सफल’ र कानुनका विद्यार्थी आयुष बडाललगायतले सर्वोच्चमा रिट दिएका थिए ।