गगनलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिँदै कांग्रेस

गगनलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिँदै कांग्रेस

सानेपामा केन्द्रीय समिति


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनको मुखमा आफ्नो भावी प्रधानमन्त्रीको उम्मेदवार औपचारिक रूपमा घोषणा गर्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गर्न लागेको हो ।

नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलो पटक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । गत पुस २७ देखि माघ १ गतेसम्म सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा आएका थापालाई नै ‘भावी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गरेर फागुन २१ गते हुने आम निर्वाचनमा जाने रणनीति कांग्रेसले बनाएको छ ।

पार्टी उपसभापति पुष्पा भुसालका अनुसार, आजको बैठक मूलतः निर्वाचन केन्द्रित हुनेछ । ‘विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आज पदभार ग्रहण गर्नेछ र लगत्तै बस्ने बैठकले सभापतिज्यूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरी सिंगो पार्टी पंक्तिलाई निर्वाचनमा होम्ने निर्णय गर्नेछ,’ उपसभापति भुसालले भनिन् ।

विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज पहिलो पटक सामूहिक रूपमा केन्द्रीय कार्यालयमा प्रवेश गरी पदभार सम्हाल्ने कार्यक्रम छ । बैठकमा प्रधानमन्त्रीको उम्मेदवार घोषणाका अलावा निर्वाचन परिचालन समिति गठन र समसामयिक राजनीतिक परिस्थितिबारे पनि विस्तृत छलफल हुने बताइएको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ को साटो यसपटक मधेश प्रदेशबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका सभापति थापा बैठक लगत्तै आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ प्रस्थान गर्नेछन् । उनले यसअघि नै (माघ ६ गते) वारेस मार्फत मनोनयन दर्ता गराइसकेका छन् । केन्द्रीय समितिको निर्णय बोकेर थापा आजै सर्लाही पुगी आक्रामक चुनावी प्रचार अभियानको थालनी गर्ने कार्यक्रम तय भएको नेताहरूले बताएका छन् ।