इतिहास स्मरण गरेर सही बाटोमा अघि बढौँ : सुनिता डंगोल

इतिहास स्मरण गरेर सही बाटोमा अघि बढौँ : सुनिता डंगोल


ग्लोब नेपाल
162
Shares

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताएकी छिन् । शनिबारदेखि सुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रूपमा मात्र नभई जिम्मेवारीबोध गर्ने दिन भएको बताइन् । उनले इतिहास पढ्न र पाठ्यक्रममा राख्नका लागि मात्र नभई त्यसलाई मनन गरेर अघि बढ्नुपर्ने बताइन् । उनले इतिहासबाट सिकेर जनताका लागि काम गर्न जरुरी रहेको बताए । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्ने कुरा इतिहासले सिकाउने बताइन् ।

उनले भने, ‘शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रूपमा मात्र नभई हामीले जिम्मेवारीबोध गर्ने दिनका रूपमा पनि लिनुपर्छ । इतिहास भनेको पढ्नका लागि मात्रै होइन, पाठ्यक्रममा राख्नका लागि मात्रै होइन । त्यसलाई मनन गर्नका लागि र इतिहासबाट धेरै कुराहरू सिक्नुपर्ने हुन्छ । इतिहास केवल किताबका पानामा मात्र राख्नका लागि होइन, स्मरण गर्न र जीवनमा उपयोग गरी सही बाटोमा अघि बढ्नका लागि हो । इतिहाससँगै जनताका लागि काम गर्नुपर्छ भन्ने दिनका रूपमा लिनुपर्छ । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्ने कुरा स्मरण गराउँछ ।’

उपप्रमुख डंगोलले शुक्रराज शास्त्रीले साहित्यमार्फत पनि समाजमा चेतना फैलाउन मद्दत गरेको बताइन् । प्रजातन्त्र ल्याउनमा शास्त्रीको योगदान अविस्मरणीय रहेको बताइन् ।