हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित

हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार खडा गरी त्यसको प्रस्तावक र समर्थक बनेको भन्दै गजुरेलसहित ७ जनालाई नेकपाले निष्कासन गरेको हो।

पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ।’

निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा), र जिवछ साह (सिरहा) रहेका छन् ।

२१ फागुनमा हुने निर्वाचनमा नेकपाबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र उनीहरूका प्रस्तावक, समर्थक र प्रचारकलाई समेत कारबाही गरिएको उल्लेख छ ।

सिन्धुली-२ मा पूर्वसांसद लेखनाथ दाहाललाई नेकपाले आधिकारिक उम्मेदवार बनाएपछि गजुरेल पक्षले विद्रोह गरेको थियो । सो क्षेत्रमा महेश्वर दाहाल बागी उम्मेदवार उठाइएको छ ।

यस्तै, दाङ-१ मा कुलप्रसाद केसीले बागी उम्मेदवारी दिएका छन् । नेकपा उम्मेदवार मेटमणि चौधरीविरुद्ध पूर्वमुख्यमन्त्री समेत रहेका केसीले विद्रोह गरेका छन्।

नेकपाबाट टिकट नपाएपछि धर्मनाथ साहले सिरहा-४ मा एमालेबाट उम्मेदवारी दिएका छन् । यस्तै, उदयपुर-२ मा पनि पार्टीले टिकट नदिएको भन्दै मेजर राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।