काठमाडौँ । डोल्पा जिल्लाबाट उज्यालो नेपाल पार्टीको तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका दिलबहादुर विष्ट नेपाली काँग्रेसमा आबद्ध भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विष्टले माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि शनिबार उनी औपचारिक रूपमा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।
उनीलाई काँग्रेस सहमहामन्त्री तथा सोही निर्वाचन क्षेत्रबाट काँग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले पार्टीमा स्वागत गरेका थिए। यद्यपि, पार्टी परिवर्तन गरे पनि विष्टको उम्मेदवारी भने यथावत् रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसअघि पनि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी काँग्रेसमा प्रवेश गरिसकेकी थिइन्। निर्वाचन कार्यालयले माघ ९ गते शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयसीमा तोकेको भए पनि सो अवधिमा उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारहरूले पार्टी प्रवेशपछि काँग्रेस उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्।
विष्ट यसअघि पनि नेपाली काँग्रेसमै आबद्ध थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसबाट टिकट नपाएपछि उनी तत्कालीन माओवादीमा प्रवेश गरेका थिए र त्रिपुरासुन्दरी गाउँपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्दा पराजित भएका थिए।


प्रतिक्रिया