काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहसका लागि आफू तयार भएको बताएका छन्। प्रधानमन्त्रीका उम्मेदवारहरूले सार्वजनिक बहस गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेला शनिबार च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रत्यक्ष प्रसारण हुने गरी खुला बहसका लागि आफू तयार भएको बताएका हुन्।
उनलाई सार्वजनिक संवादका लागि पत्रकारहरूले तपाईँ तयार हो ? भनेर प्रश्न गरेका थिए। जबाफमा ओलीले त्यस्तो कार्यक्रम आवश्यक रहेको बताए। नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरी चुनावमा जाने निर्णय गरेको थियो।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी एकता गरेको थियो। नेपाली काँग्रेसको शुक्रबार मात्रै बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
यी तीन पार्टीले प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरेपछि अहिले उनीहरूलाई एउटै मञ्चमा राखेर सार्वजनिक बहस गराउनुपर्ने आवाज उठिरहेको छ। त्यसमा ओलीले गगन थापा र बालेन शाहसँग बहसका लागि आफू तयार भएको बताएका हुन्।


प्रतिक्रिया