कोसी प्रदेशबाट राष्ट्रिय सभामा काँग्रेस-एमालेका ३ सदस्य निर्वाचित

कोसी प्रदेशबाट राष्ट्रिय सभामा काँग्रेस-एमालेका ३ सदस्य निर्वाचित


ग्लोब नेपाल
432
Shares

काठमाडौँ । कोसी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य छनोटका क्रममा तीन जनाले सफलता हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार नेपाली काँग्रेसबाट सुनिलबहादुर थापा तथा नेकपा एमालेबाट सोम पोर्तेल र रोशनी मेचे राष्ट्रिय सभाका सदस्य निर्वाचित भएका हुन् ।

यस निर्वाचनमा कुल तीन पदका लागि प्रक्रिया अघि बढाइएको थियो । काँग्रेसका थापा यसअघि नै निर्विरोध रूपमा चयन भइसकेका थिए भने बाँकी दुई पदका लागि आइतबार मतदान सम्पन्न भएको थियो । सो मतदानबाट एमालेका पोर्तेल र मेचे विजयी भए । प्रतिस्पर्धामा रहेका नेकपा (एकीकृत समाजवादी) का खेम सुन्दास र नमिता न्यौपाने पराजित भएका छन् ।

नवनिर्वाचित सदस्य थापा पूर्वमन्त्रीसमेत रहिसकेका नेता हुन् । उनी संविधानसभा निर्वाचन २०७० मा धनकुटा क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट निर्वाचित भएका थिए ।

एमालेले कोसी प्रदेशका लागि दलित समुदायको कोटामा पोर्तेललाई उम्मेदवार बनाएको थियो । उनी यसअघि झापा जिल्ला समन्वय समितिमा पाँच वर्षसम्म जिम्मेवारी सम्हालिसकेका छन् ।

त्यसैगरी, रोशनी मेचे झापा जिल्लाकै निवासी हुन् । अल्पसंख्यक मेचे समुदायको प्रतिनिधित्व गर्दै उनी यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत थिइन् । निर्वाचनमा उनले ७ हजार १७३ मतभार प्राप्त गरी विजय हासिल गरेकी हुन् ।

कोसी प्रदेशतर्फको राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाका ८७ सदस्य तथा स्थानीय तहका २५८ जना जनप्रतिनिधिले मतदान गरेका थिए । निर्वाचन प्रक्रियामा एमाले, काँग्रेस र जनता समाजवादी पार्टीबीच सहकार्य भएको थियो ।