काठमाडौं । कर्णाली र लुम्बिनी प्रदेशका १३ जिल्लामा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । हिजो आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा सोबबीच भएको लिखित सहमतिअनुसार एमालेले रुकुम पूर्व र रुकुम पश्चिममा प्रलोपाका उम्मेदवारलाई सघाउने सहमति भएको हो । यसको बदलामा अन्य ११ जिल्लामा प्रलोपाले एमाले उम्मेदवारलाई मतदान गर्नेछ । एमाले र प्रलोपाबीचको यो सहमतिले रुकुम पूर्व र पश्चिमको चुनावी नतिजालाई थप रोचक बनाएको छ ।
रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार छन् । एमालेले आफ्ना उम्मेदवार लीलामणि गौतमलाई निष्क्रिय बनाउँदै प्रलोपाका सन्दीप पुनलाई समर्थन गर्ने निर्णय गरेपछि दाहालमाथि दबाब बढेको बुझिन्छ ।
त्यस्तै, रुकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रलोपाका संरक्षक जनार्दन शर्मा चुनावी मैदानमा छन् । एमालेले आफ्ना उम्मेदवार नन्दराम देवकोटाको साटो शर्मालाई (आँखा चिह्नमा) मतदान गर्ने सहमति गरेपछि त्यहाँको प्रतिस्पर्धा थप कसिलो बनेको छ । रुकुम पश्चिममा नेकपाका तर्फबाट गोपाल शर्मा उम्मेदवार छन् ।
तालमेलका १३ जिल्ला
सहमतिअनुसार एमाले र प्रलोपाबीच कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, मुगु, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिम तथा लुम्बिनीका रुकुम पूर्व, दाङ, रोल्पा र प्यूठानमा सहकार्य हुनेछ । रुकुमका दुई क्षेत्रबाहेक अन्य जिल्लामा प्रलोपाका उम्मेदवारले एमालेलाई सघाउनेछन् । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार हुम्ला र जुम्लाबाहेकका जिल्लामा यो सहमति इमानदारिताका साथ कार्यान्वयन गरिनेछ ।
औपचारिक सहमतिबाहेक एमाले र नेकपा (माओवादी) बीच कालीकोट र दाङमा अनौपचारिक ‘लेनदेन’ भएको चर्चा समेत राजनीतिक वृत्तमा छ । स्रोतका अनुसार कालीकोटमा एमालेले माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सघाउने र त्यसको बदलामा दाङ क्षेत्र नं. २ मा माओवादीले एमाले महासचिव शंकर पोखरेललाई सहयोग गर्ने बुझिएको छ ।
२०७९ को निर्वाचनको तथ्याङ्क हेर्दा रुकुममा माओवादीको पकड बलियो देखिन्छ । तर, यसपटक माओवादी पृष्ठभूमिका नेताहरू नै विभाजित भएर फरक दल (प्रलोपा) बाट मैदानमा उत्रिएको र उनीहरूलाई एमालेको समेत साथ रहने भएपछि चुनावी अङ्कगणित फेरबदल हुन सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया