सुदन गुरुङको ‘घरदैलो’ चुमनुब्रीबाट

सुदन गुरुङको ‘घरदैलो’ चुमनुब्रीबाट


ग्लोब नेपाल
243
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका सुदन गुरुङले आजदेखि आफ्नो चुनावी क्षेत्रमा औपचारिक रूपमा घरदैलो अभियानको घोषणा गरेका छन् । उनी गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्वार भएका छन् ।

गोरखाको दुर्गम एवं भौगोलिक रूपमा विकट मानिने चुमनुब्री गाउँपालिकालाई प्रस्थान विन्दु बनाएर गुरुङले आफ्नो चुनावी अभियान अघि बढाएका हुन् । मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत मतदाताहरूसँग साक्षात्कार गर्दै उनले आफ्नो उम्मेदवारी पद प्राप्तिको लालसा नभई मातृभूमिप्रतिको उत्तरदायित्व भएको स्पष्ट पारेका छन् ।

‘यो यात्रा कुनै पदको चाहनाले होइन, गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीले सुरु गरेको हुँ,’ गुरुङले भनेका छन्, ‘वीरहरूको भूमि गोरखाले दिएको ऐतिहासिक पहिचान र संस्कारलाई शिरोधार्य गर्दै म जनताको दैलोमा आइपुगेको छु ।’

अभियानको क्रममा उनले मतदाताको साथ र आशीर्वाद नै आफ्नो मुख्य ऊर्जा भएको उल्लेख गरेका छन् । विगतका अधूरा सपना पूरा गर्ने र जनताले भोगेका कष्टकर दिनहरूको अन्त्य गर्ने अठोट व्यक्त गर्दै गुरुङले विकास, सुशासन र इमानदार सेवामार्फत जनताको भरोसाको ऋण तिर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘देशभन्दा ठुलो केही छैन र जनताको सेवाभन्दा ठुलो सम्मान केही छैन । गोरखाको सम्मान, समाजको उज्ज्वल भविष्य र समृद्ध नेपालका लागि हामी सँगै अघि बढ्नुपर्छ ।’