काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको बताएका छन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञसँग सुझावका लागि छलफल गर्ने क्रममा ओलीले त्यस्तो बताएका हुन् ।
प्रचार संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार ओलीले भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुऱ्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने भनेका छन् ।
उनले पार्टीले हाल भइरहेका राज्यका संयन्त्रहरूका गतिविधि र काम कारबाहीका विषयमा नजिकबाट नियालिरहेको भन्दै सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको आरोप लगाए ।
‘राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभयो’, शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिए ।
‘पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको बताउनुभयो’, विज्ञप्तिमा उल्लेख छ ।
एमालेले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्न सक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया