काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् ।
सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे ।
‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक खालको प्रभाव त पारेको छ । तर मतदाताबीचको कुरा गर्दा हामी झापा–५ मा पनि सुरक्षित अवस्थामा छौं,’ पोखरेलले सुनाए, ‘त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’
झापा–५ मा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् । सो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि चुनावी मैदानमा छन् ।
महासचिव पोखरेलले जेनजी आन्दोलनपछि नेपालमा विदेशी कठपुतली सरकार निर्माण भएको टिप्पणी गरे । चुनावपछि जेलेन्सकी सरकार जन्माउने प्रयास भइरहेको पनि उनले बताए ।
उनले भने, ‘संविधान घायल भएको छ, लोकतन्त्र कमजोर भएको छ, नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र हुँदैछ । अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको छ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनको लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको छ ।’
उनले विदेशी षड्यन्त्रलाई सफल बनाउन नदिने गरी अघि बढेको बताए । चीन र भारतका विरुद्धमा शक्ति राष्ट्रहरुले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमिको प्रयोग गर्न नदिने बताए ।
युवा पुस्तालाई भड्काएर समाजमा द्वन्द्व निम्त्याउने खोज्ने प्रवृत्तिलाई परास्त पार्ने उनले बताए ।


प्रतिक्रिया