काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको धारणा व्यक्त गरेका छन् ।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । “आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु”, राष्ट्रपति पौडेलले भने ।
उनले जापानमा विभिन्न पेसा र क्रियाकलापमा आबद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आइपरेका समस्याको समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेका बताए । उनले नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगीकार गरेसँगै मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा उच्च गतिका साथ अघि बढाउन आवश्यक रहेको बताए । राष्ट्रपति पौडेलले राज्य सञ्चालनमा पारदर्शिता जवाफदेहिता, सहभागिता एवं विधिको शासनलाई केन्द्र भागमा राखेर जनमानसमा प्रभावकारी सेवा प्रवाहको प्रत्याभूति हुनुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया