लिबियाका पूर्वशासक कर्णेल मुअम्मर गद्दाफीका छोरा तथा उनका राजनीतिक उत्तराधिकारी मानिने सैफ अल-इस्लामको गोली हानी हत्या गरिएको छ । ५३ वर्षीय सैफको हत्या भएको पुष्टि उनका राजनीतिक प्रमुखले मङ्गलवार गरेका हुन् ।
लिबियन न्युज एजेन्सीका अनुसार गद्दाफीका छोरा सैफलाई उनका बाबुको शासनकालपछि लिबियाको सबैभन्दा प्रभावशाली र शक्तिशाली व्यक्तिका रूपमा हेर्ने गरिन्थ्यो । उनको हत्या कसले र किन गर्यो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन, तर घटनाबारे विभिन्न विवरणहरू सार्वजनिक भएका छन् ।
सैफका वकिलले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार, उनको हत्या योजनाबद्ध रूपमा ‘चारजना कमान्डो’ को एक विशेष युनिटले गरेको हो । वकिलका अनुसार यो घटना सैफको गृहनगर जिन्तानस्थित उनकै निवासमा भएको हो । आक्रमणकारीको पहिचान भने हालसम्म खुल्न सकेको छैन ।
यद्यपि, घटनाको प्रकृति र स्थानबारे विरोधाभासपूर्ण विवरणहरू पनि बाहिर आएका छन् । सैफकी बहिनीले लिबियन टेलिभिजनलाई दिएको जानकारी अनुसार आफ्ना दाजुको मृत्यु जिन्तानमा नभई अल्जेरियासँगको सिमाना नजिकै भएको हो ।
सन् १९७२ मा जन्मिएका सैफ अल-इस्लामले सन् १९६९ देखि २०११ सम्म लिबियामा एकछत्र शासन गरेका आफ्ना पिता मुअम्मर गद्दाफीको शासनकालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २००० देखि गद्दाफी सत्ताको पतन नहुँदासम्म उनले पश्चिमा मुलुकहरूसँग लिबियाको सम्बन्ध सुधार गर्न र कूटनीतिक वार्ताहरूमा नेतृत्वदायी भूमिका खेलेका थिए । उनकै पहलमा गद्दाफीले परमाणु कार्यक्रम त्याग्ने सहमति गरेका थिए, जसले गर्दा लिबियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा भएको थियो ।
सैफले आफूलाई सत्ताको भोको नभएको र “सत्ता विरासतमा पाइने खेतीबारी नभएको” बताउने गरे पनि उनलाई गद्दाफीको अघोषित उत्तराधिकारीका रूपमा लिइन्थ्यो ।
सन् २०११ को जनविद्रोहमा मुअम्मर गद्दाफीको मृत्युसँगै सैफको जीवनमा पनि ठूलो उथलपुथल आयो । विद्रोहीहरूले सत्ता कब्जा गरेपछि उनलाई जिन्तानमा विद्रोही लडाकु समूहले करिब छ वर्षसम्म बन्दी बनाएर राख्यो ।
आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि दमन गरेको र मानवताविरुद्धको अपराध गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले उनीमाथि मुद्दा चलाउन खोजेको थियो । सन् २०१५ मा त्रिपोलीस्थित एक अदालतले उनलाई मृत्युदण्डको सजाय समेत सुनाएको थियो । तर, देशको पूर्वी क्षेत्रमा सक्रिय तोब्रुकस्थित लडाकु समूहले आममाफीसम्बन्धी कानुनअन्तर्गत दुई वर्षपछि उनलाई रिहा गरिदियो ।
पछिल्लो समय सन् २०२१ मा सैफले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दै राजनीतिमा पुनरागमनको प्रयास गरेका थिए, यद्यपि उक्त चुनाव अनिश्चितकालका लागि स्थगित भएको थियो ।


प्रतिक्रिया